गलत सूचना रोक्न निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने

न्युजलय ३२ असोज २०७९, मङ्गलबार ०२:०१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएको छ ।


आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचनारप्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।


त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् ।


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताए । उनले फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको बताए ।


आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ । त्यसैगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न पनि फेसबुकका प्रतिनिधिहरु सकारात्मक भएको आयोगका अधिकारीहरु बताउँछन् ।


निर्वाचनका क्रममा उम्मेदवार र तिनका शुभचिन्तकहरुले गर्ने खर्च, सामाजिक सञ्जालको पोष्ट शेयर गर्दा हुने खर्चका बारेमा समेत फेसबुक माउ संस्था मेटाले आवश्यक सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगका अधिकारीको भनाइ छ ।


आयोगले यसअघि नै टिकटकको टोलीसँग निर्वाचन शिक्षाको प्रचारप्रसार तथा गलत सूचना नियन्त्रणका विषयमा छलफल गरेको थियो । त्यसैगरी ट्विटरको टोलीसँग समेत छलफल भएको आयोगले जनाएको छ ।