कबाडखाना बन्यो इटहरी उपमहानगरपालिका परिसर (तस्वीरहरु)

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०९:५३ मा प्रकाशित

इटहरी । यो समाचारको शीर्षकलाई पुष्टि गर्ने पर्याप्त तस्वीरहरु छन् । पहिला तस्वीरहरु नै हेरौं


इटहरी । इटहरी उपमहानगरपालिका आफूलाई हरित नगरीको रुपमा परिचित गराउँछ । तर व्यवहारमा ठिक उल्टो छ । नगरको हरियाली मासिँदै गएको छ । 

खोलानालाहरु प्रदूषित छन् । कुनै समय खोला सफाइको लागि चलाइएका सबै अभियानहरु अहिले ठप्प हुँदा खोला र नालाहरु प्लाष्टिक र फोहोर फाल्ने डम्पिङ साइड बनेका छन् । प्लाष्टिकमुक्त घोषित भइसकेको इटहरीका ढलहरु सफा गर्दा प्लाष्टिक बाहेक केही भेटिँदैन । 

नगरको त कुरा छाडौं, उपमहानगरपालिका परिसरलाई नै हेरौं । आजभोलि उपमहानगरपालिका परिसर कबाड खानामा परिणत भएको छ । हुन त नगरपालिका परिसरमा अहिले पाँच तलाको प्रशासनीक भवन र सार्वजनिक शौचालय बनिरहेको छ । तर ती सामानहरु निर्माण कार्यसँग सम्बन्धित होइनन् । बरु महिनौंदेखि वेवास्तापूर्ण तरिकाले छाडिएका कवाडहरु हुन् ।

इटहरी उपमहानगर परिसरमा केही महिनायता ठाउँ ठाउँमा कबाड सामानहरु थुप्रिएका छन् । बिग्रिएका भत्किएका सामानहरु असरल्ल छरिएको देख्न सकिन्छ । बिग्रेका मात्रै होइन, थोरै खर्च गरेर बनाउँदा प्रयोगमा आउने सामानहरु पनि बेवास्तापूर्ण तरिकाले छाडिएको छ । यस्तै नयाँ सामानहरु पनि बेवास्तापूर्ण तरिकाले छाडिँदा बिग्रँदै गएका छन् ।

उपमहानगरपालिकाको पुरानो मन्च अहिले धुलो र फोहोरले विरुप बनेको छ । फलामका पाइपदेखि कुर्सी, टेबलहरु एकमाथि अर्को थुपारिएका छन् । मानौ, मन्चमा ती सामानहरुको कुस्ती प्रतियोगिता भइरहेको छ । मन्चको पछाडी मर्मत गर्दा चल्ने अवस्थाको जस्तो देखिने एउटा मोटरसाइकल ठड्याइएको छ ।

वृद्धचौतारी छेउमै एउटा पुरानो स्कुटर महिनौंदेखि कसैलाई पर्खिरहेको जस्तो देखिन्छ । 

सबैभन्दा धेरै फोहोर र कबाड त उपमहानगरपालिका परिसरमा रहेको साँस्कृतीक भवन वरिपरि छ । यो त्यही भवन हो, जसमा अहिले उपमहानगरपालिकाको आधा प्रशासनिक कामहरु हुने गर्छ भने नगरप्रहरीहरु पनि यही बस्छन् । अनि नगरपालिकाका महत्वपूर्ण बैठकहरु पनि यसै भवनमा रहेको सभाहलमा हुने गर्छन् ।

उपमहानगरपरिसरमा त्यसै छाडिएर कबाडमा परिणत भएका कतिपय सामानहरु थोरै पैसा खर्च गरेर मर्मत गर्दा प्रयोगमा ल्याउन सकिन्छ । प्रयोगमा ल्याउन नसकिने सामान कबाडलाई बेच्न सकिन्छ । तर कसैको ध्यान नजाँदा उपमहानगरपालिका परिसर कबाडखाना बनेको छ ।