राप्रपालाई राजसंस्था पुनर्स्थापना गर्ने संघर्ष समिति बनाइयो : पूर्व अध्यक्ष थापा

शंकर खत्री २९ माघ २०७८, शनिवार १२:४९ मा प्रकाशित

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पुर्व अध्यक्ष कमल थापाले राप्रपा राजसंस्था पुर्नस्थापना गर्ने संघर्ष समितिको रुपमा अघि बढेकाले आफूले पार्टी छोड्न बाध्य भएको बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा संचारकर्मीसँग कुरा गर्दै उनले राप्रपा पार्टीको रुपमा नभएर राजसंस्था बिउँत्याउनका लागि बनेको संघर्ष समितिको रुपमा अघि बढेको उनले आरोप लगाएका छन् ।


राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि राप्रपाको चरित्र नै परिर्वतन हुने देखिएकाले आफूले पार्टी परित्यागको घोषणा गरेको थापाले बताएका छन् । ‘राप्रपाको चरित्रमा पनि परिर्वतन हुने संकेत देखियो’, पुर्वअध्यक्ष थापाले भने, ‘राप्रपा देशको एउटा राजनैतिक शक्तीको रुपमा भन्दा पनि कुनै एउटा विषयलाई पुर्नस्थापित गर्ने संघर्ष समितिको रुपमा परिणत भयो ।’ उनले अगाडि थपे, ‘र निर्मल निवासबाट रिमोट कन्ट्रोलबाट सञ्चालन हुने सम्भावना देखिन आयो ।’


यो विषय आफूलाई पहिला नै थाहा पाएर पार्टी अध्यक्ष (राजेन्द्र लिङ्देनलाई)लाई मंसिर २७ गते पार्टीले स्पष्ट धारणा सर्वजनिक गर्न लगाएकोमा त्यसो नगरेको उनको भनाइ छ । त्यसपछि आफ्नो कुरा सम्बोधन होलन् भनेर आफूले माग १६ गते पनि अर्को पत्र पार्टी अध्यक्षलाई लेखेको तर त्यसको जवाफ आफूले नपाएका कारण पाटी परित्यागको अवस्थामा पुगेको उनको भनाइ छ । आफूले सर्वजनिक रुपमा नै स्थानीय तहको निर्वाचनको मिति तय हुनु पहिला यो विषयमा पार्टीले धारणा सर्वजनिक नगरे विकल्प खोज्ने बार बोलिसकेको उनको भनाइ छ ।