इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नेकपा एमालेतर्फका कार्यपालिका सदस्यहरुप्रति रोष व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक प्रोफाइलमा ‘सिगानेलाई नेता बनाएकाले यो हविगत भएको’ भन्दै रोष व्यक्त गरेका हुन् ।
दुई महिनादेखि कार्यपालिका बैठक नराखिएको र बैठक राख्न माग गर्दा मेयर पौडेलले टार्ने गरेको आरोप लगाउँदै कार्यपालिका सदस्यले अदालतमा रिट हालेका थिए । रिट दायर भएलगत्तै प्रमुख प्रशासकीय अधिकृतले शुक्रबार दिउँसो १ बजेलाई कार्यपालिका बैठक बोलाएका थिए ।
कार्यपालिका बैठक माग्न पनि सत्ता साझेदार रहेको र कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिहरुलाई उनले 'सिँगाने' भन्दै कटाक्ष गरेका छन् । मेयर पौडेलले लेखेका छन्, ‘सस्तो नारा पनि निल्नु न ओकल्नु भयो इटहरीमा । अब म चकलेट बोकेर हिँड्नु, गोजीमा ? नेतृत्वमा परिपक्वता हुन जरुरी छ । सिँगानेहरूलाई नेता बनाएपछि मुलुकको प्रमुख राजनीतिक दलको हविगत हुनेरहेछ । जनतामा निराशा यस्तै चरित्रका पात्रले गर्ने रहेछ, मेरो इटहरीको अवस्था ।’
इटहरीमा मेयर पौडेलविरुद्ध अहिले एमालेका जनप्रतिनिधिहरु, नेकपा एमाले र नेकपा माओवादीबाहेक अन्य राजनीतिक दलहरु एक ठाउँ उभिएका छन् । उनीहरुले केही दिनअघि १५ दिनभित्र सार्वजनिक सुनुवाई गर्न माग गरेका थिए । नगर बस, सिटि स्क्यान मेसिन खरीदमा अनियमितता गरेको आरोप उनीहरुले लगाएका छन् । यता मेयर पौडेलले भने आफूलाई असफल बनाउने राजनीतिक उद्देश्यले विरोध गरिएको टिप्पणी गर्दै आएका छन् ।