झापा । झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणी टोलको एक घरमा भएको आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ । धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको थियो।
आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन्। मेनपा–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दीपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का विनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीशङ्कर न्यौपाने, वर्ष ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ आगलागीमा घाइते भएका छन् ।
मेनपाका ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन्। घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विष्फोट भएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।