सुनसरीका युवाका लागि उद्यमशीलता बुटक्याम्प शृङ्खला सञ्चालन हुने

न्युजलय २ भदौ २०८३, मङ्गलबार १२:२२ मा प्रकाशित

इटहरी । सुनसरी जिल्लाका युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले ‘जेनबिज सुनसरी युवा उद्यमशीलता बुटक्याम्प शृङ्खला’ सञ्चालन हुने भएको छ।


लक्ष्यदीपको आयोजनामा युरोपेली संघको आर्थिक सहयोग तथा ग्लोबल युथ मोबिलाइजेसन अन्तर्गतको युवा सशक्तीकरण कोषको साझेदारीमा कार्यक्रम सञ्चालन हुन लागेको हो। सुनसरीका १२ वटै स्थानीय तहका युवालाई लक्षित गरी सञ्चालन हुने कार्यक्रममा ६० जना युवा सहभागी हुनेछन्।


विशेष गरी प्लस टु र ब्याचलर अध्ययन गर्दै गरेका विद्यार्थीहरुको लागि यो अवसर हो । १० सातासम्म प्रत्येक शनिबार इटहरीमा प्रत्यक्ष कक्षा सञ्चालन गरिने आयोजक संस्थाकी जानुका शर्माले जानकारी दिएकी छिन् ।


कार्यक्रमको अभिमुखीकरण भदौ ६ गते हुनेछ भने पहिलो प्रशिक्षण कक्षा भदौ ७ गतेदेखि सुरु हुनेछ। 


कार्यक्रममा सहभागी युवालाई उद्यमशील सोचको विकास, समस्या तथा व्यावसायिक अवसरको पहिचान, व्यावसायिक विचारको परीक्षण, ग्राहकको आवश्यकता पहिचान, व्यवसायको प्रारूप निर्माण, बजार अध्ययन, ब्रान्ड निर्माण, बजार प्रवद्र्धन तथा बिक्री, वित्तीय योजना र बजेट निर्माण, व्यवसाय सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ।


त्यस्तै व्यवसाय विस्तारको रणनीति, अनुभवी व्यक्तिबाट परामर्श, सहकर्मीबाट सिकाइ तथा सम्बन्ध विस्तार र व्यावसायिक विचारलाई परिष्कृत गरी प्रस्तुतीकरण गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ।


कार्यक्रमको अन्त्यमा व्यावसायिक विचार प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी युवाले प्रशिक्षणका क्रममा विकास तथा परिष्कृत गरेका आफ्ना व्यावसायिक विचार प्रस्तुत गर्नेछन्।


कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। कार्यक्रम पूरा गरेपछि उपस्थिति र सहभागिताका आधारमा सहभागीलाई यातायात खर्चबापत सीमित रकम उपलब्ध गराइने आयोजकले जनाएको छ।


छनोट भएका सहभागीले लगातार १० सातासम्म प्रत्येक शनिबार हुने प्रशिक्षणमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ। साथै समूहगत गतिविधि, अभ्यास तथा छलफलमा सक्रिय सहभागिता जनाउनुपर्ने र अन्तिम व्यावसायिक विचार प्रस्तुतीकरणमा सहभागी हुनुपर्नेछ।


कार्यक्रमका लागि आवेदन दिने अन्तिम मिति भदौ २ गते राति ११ः५९ बजेसम्म रहेको जनाइएको छ। आवेदनको समीक्षा भदौ ३ र ४ गते गरिने तथा छनोट भएका सहभागीलाई भदौ ४ र ५ गते जानकारी गराइनेछ।


आवेदन बुझाउँदैमा कार्यक्रममा सहभागिता सुनिश्चित नहुने र छनोट भएका आवेदकलाई मात्र सम्पर्क गरिने आयोजकले जनाएको छ।