नयाँ वृन्दावन गौशालामा फूलको होली

न्युजलय ३ चैत २०७८, बिहिबार ०२:४८ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैचामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा होली पर्वको अवसरमा फूलको होली खेलिएको छ । विगतका वर्ष झै यस वर्ष पनि मोरङको सुन्दरहरैचा वडा नम्बर ५ मा रहेको नयाँँ वृन्दावन गौशालामा होली खेलिएको हो ।

होली मिलन महोत्सव नाम दिइएको महोत्सवमा धार्मिक गुरु, जनप्रतिनिधि, व्यवशायीका साथै सुनसरी तथा मोरंगका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनहरुको सहभागिता थियो । राधेश्याम सेवा ट्रष्टकी अध्यक्ष गंगादेवी काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा गरिएको होली मिलन महोत्सवमा उत्साहजनक रुपमा भक्तजनहरुको सहभागिता रहेको थियो ।

गौशालाका संरक्षक  दिनवन्धु शास्त्रीको सक्रियतामा विगत १२ वर्ष देखि नयाँ वृन्दावन गौशालामा फूलको होली खेलेर होली पर्व मनाउने गरिएको छ । सो अवसरमा नयाँ वृन्दावन गौशालाका सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी धार्मिक सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।