तमोर नदीको फड्केबाट खसेर ताप्लेजुङमा एक युवकको मृत्यु

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०५:१२ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङस्थित तमोर नदीमा लगाएको काठको फड्के तर्ने क्रममा खसेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्कीको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीका अनुसार बिहीबार साँझ फड्के साँघुबाट खसेर कार्कीको निधन भएको हो।

कार्की साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेको स्थानीको भनाइ छ। उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो।

कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पुर्‍याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।