नगरपालिकाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

न्युजलय १३ माघ २०७८, बिहिबार ०२:१८ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिकाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधवार साँझ ७ बजे मेचीनगर–७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडि मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशीको मृत्यु भएको हो । 

ठक्करबाट घाइते उनलाई सोही गाडीले घाइते उपचारका लागि बिर्तामोडको बिएण्डी अस्पताल पुर्याएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षीय राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।