देशभरका सबै विद्युत महसुल काउन्टर ५ दिन बन्द

न्युजलय २७ मङ्सिर २०७८, सोमबार १२:४४ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर ५ दिनका लागि बन्द गर्ने भएको छ । प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको हो ।


परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत महसुल काउन्टरहरू पुस १ देखि ५ गतेसम्म बन्द हुनेछन् ।


एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण  केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ । विद्युत नियमन आयोगको गत कात्तिक ८ गते विद्युतको महसुल दर समायोजन गरेको थियो । आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी विद्युत महसुल समायोजन गरेको थियो ।


समायोजित महसुल दर मंसिर महिनाबाट लागु भएको छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायोजन भएको दर अनुसार खपत भएको विद्युत महसुलको बिल दिनेछ ।