कोशी योजना आयोगको उपाध्यक्ष डा. अधिकारी नियुक्त

न्युजलय ७ जेठ २०८१, सोमबार ०८:५० मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले अर्थशास्त्रका उप–प्राध्यापक डा. राजेन्द्र अधिकारीलाई प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ। 

विराटनगरमा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो। झापाको बिर्तामोड नगरपालिका–७ का अधिकारीलाई उपाध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेका थिए। 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम डा. अधिकारीलाई उपाध्यक्ष नियुक्त गरिएको हो। 

उपाध्यक्ष नियुक्त भएका अधिकारी झापास्थित मेची बहुमुखी क्याम्पसको अर्थशास्त्रका उप(प्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन्।