आजको प्रदेशसभा बैठक स्थगन गर्न एमालेको माग

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०७:४८ मा प्रकाशित

विराटनगर ।  नेकपा (एमाले)ले प्रदेश १ को आजको बैठक स्थगन गर्न माग गरेको छ । 

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण विराटनगर बाहिर रहेका धेरै सांसदहरू आइपुग्न नसेकेकाले सदन स्थगन गर्न माग गरिएको बताए ।

मुख्यमन्त्री राजेन्द्र कुमार राईले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । एमालेले भने मतदान प्रक्रिया थालिए बैठकमा सहभागी नहुने बताएको छ ।

पाँच गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका राईले आजको बैठकमा विश्वास मत लिने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कार्यव्यवस्थाको बैठकमा एमालेले सदन स्थगन गर्न माग गरेको हो ।