भारतको टीआरपी गेम जोनमा आगलागी, २७ जनाको मृत्यु

न्युजलय १३ जेठ २०८१, आइतबार ०५:३२ मा प्रकाशित

 काठमाडौँ । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिवार भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिवार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेको भारतीय मिडियाहरुले बताएका छन् ।

मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ । 


राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।