इटहरीका डा. कमलप्रसाद दाहाल अन्तर्राष्ट्रिय मञ्चमा विश्वशान्ति पुरस्कारबाट सम्मानित

न्युजलय २१ असोज २०८३, बुधबार ०४:२१ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा नेपालका सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल ‘विश्वशान्ति दूत’बाट सम्मानित भएका छन् ।


भारतको ओडिशास्थित भुवनेश्वरमा रहेको एमजिजिपी इन्डिया फाउन्डेसनले विश्वशान्ति, भाइचारा तथा गान्धीवादी दर्शनको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै दाहाललाई ‘विश्वशान्ति दूत’का रूपमा मनोनयन गरि ‘महात्मा गान्धी विश्वशान्ति पुरस्कार’बाट समेत सम्मानित गरिएको उनले जानकारी दिए ।


यसै अवसरमा फाउन्डेसनले आयोजना गर्ने ‘गान्धी शान्ति अन्तर्राष्ट्रिय पुरस्कार तथा शान्ति सम्मेलन’मा दाहाललाई विशिष्ट अतिथिका रूपमा सहभागी हुन आमन्त्रणसमेत गरेको छ । 


दाहालले देशका प्रमुख धार्मिक तीर्थस्थलहरूको नाङ्गो खुट्टा नै पैदल यात्राका क्रममा छन् । विश्व शान्ति कलश र विश्व शान्ति दण्ड हातमा लिएर बराहक्षेत्र, पिण्डेश्वर धाम र दन्तकालीसहितका मठमन्दिरबाट शुरु भएको उनको पदयात्रा काठमाडौँको पाशुपत क्षेत्रसम्म पुगिसकेको र आगामी दिनमा अन्य धार्मिक स्थलहरूमा पनि यसलाई निरन्तरता दिइने उनले जानकारी दिए।


नेपालबाट विश्वशान्ति, अहिंसा, सनातन संस्कृति तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै आएका दाहालको यो सम्मानले नेपालको सांस्कृतिक तथा सामाजिक क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।