झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि भद्रपुर नगरपालिकाको अपिल

न्युजलय २५ भदौ २०८०, सोमबार ०८:४२ मा प्रकाशित

झापा । भद्रपुर नगरपालिकाले दुई साताअघि झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि अपिल गरेको छ ।  

नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशुको वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचिकृत हुन आउन आग्रह गरेको छ ।   

गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । 

त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । 

सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएन । त्यसपछि नगरपालिकाले बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको हेरचाह गर्न चाहनेले निवेदन दिन अपिल गरेको हो।