मृतकको रकम–गहना चोरी आरोपमा इलामका राई दम्पती पक्राउ

न्युजलय २१ माघ २०७८, शुक्रबार ०६:४५ मा प्रकाशित

 इलाम । पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना चोरेको आशंकमा इलाम प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । इलामको रोङ गाउँपालिका–४ मा माघ १३ गते बिहान पिकअप दुर्घटना भएको थियो ।

दुर्घटनामा एकै घरका दुई दाजुभाइको मृत्यु भएको थियो भने चालक घाइते भएका थिए । सो दुर्घटनापछि मृतकका आफन्तले मृतकको साथमा रहेको नगद र गहना हराएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्दै आएको छ । 

अनुसन्धानकै क्रममा रोङ गाउँपालिका–४ का राई दम्पतीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । नियन्त्रणमा परेका व्यक्तिको नाम र ठेगाना प्रहरीले खुलाएको छैन् ।

पिकअप दुर्घटनापछि घटनास्थलमा सबैभन्दा पहिला घटनास्थलमा को पुगेको भन्ने विषयबाट अनुसन्धान थाल्दा नियन्त्रणमा लिएका दुई जना गएको पाएको प्रहरीले जनाएको छ ।  

मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप राजमार्गबाट खस्दा त्यसमा सवार दाजु–भाइको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा झापा मेचीनगर–४ का ५५ वर्षे रोशन थापा र उनकै भाइ ४० वर्षे सूर्य थापा रहेका थिए । उनीहरूको साथमा रहेको नगद ४ लाख र सुन घटनास्थलबाटै हराएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

खसी–बाख्रा किनबेच गर्ने थापा दाजुभाइको साथमा रहेको रकम हराएको परिवारजनको गुनासो छ । दुर्घटनामा चालक झापा मेचीनगर–४ का ३३ वर्षे अर्जुन कोइराला गम्भीर घाइते भएका थिए । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।