विराटनगर । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थीसँग प्रहरी र अस्पतालका सुरक्षा गार्डको झडप भएको छ। झडपमा तीनजना प्रहरी र चारजना विद्यार्थी घाइते भएका छन्।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सोमबार(आज) दिउँसो आन्दोलनरत विद्यार्थीसँग प्रहरी र अस्पताल सुरक्षाकर्मीहरूको झडप हुँदा तीनजना प्रहरी र चारजना विद्यार्थी घाइते भएका हुन्।
घाइते हुने विद्यार्थीमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपेन्द्र मेहता र टेकेन क्षेत्री, मोरङ सहसचिव उमेश सेन्चुरी र अनेरास्ववियू (एस) का सोएब अन्सारी छन्। उनीहरू प्रहरी र सुरक्षागार्डको लाठी लाग्दा सामान्य घाइते भएका हुन्।
सोमबार आन्दोलनरत विद्यार्थीले नोबेल मेडिकल कलेजमा सहमतिविपरीत पढाइ भइरहेको भन्दै कलेज हातामा प्रवेश गरेर कक्षा रोक्न खोजेका थिए। सोही क्रमा प्रहरी र कलेजका सुरक्षागार्डले बल प्रयोग गर्दा विद्यार्थीसँग दोहोरो झडप भएको थियो।
झडपका क्रममा आक्रोशित विद्यार्थीले नोबेल मेडिकल कलेजले सञ्चालन गर्दै आएको अस्पतालको मूलगेट र फार्मेसीको सिसा, कलेज प्रशासनको एउटा कम्प्युटर तोडफोड गरेका छन्। विद्यार्थीले गरेको ढुंगाप्रहारबाट तीनजना प्रहरी घाइते भएका छन्।