ज्येष्ठ नागरिक,अपाङ्गता र सुत्केरीका लागि विराटनगर महानगरको निःशुल्क एम्बुलेन्स सेवा

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०९:५८ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । 


मंगलबार एक समारोहकाबीच महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उक्त एम्बुलेन्स सेवाको शुभारम्भ गरेकी हुन् । 


स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ ।  महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाइएको छ । 


त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको र विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ । एम्बुलेन्स सेवाका लागि ९७६२९५९२२४ र ९७६२९५९२२५ यस नम्बरमा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।