सुनसरी । सुरक्षा निकायका प्रमुखहरूको हस्तक्षेपपछि भदौ १५ गते धरानमा गर्ने भनिएको भ्रष्ट्राचारविरुद्धको र्याली रोकिएको छ । धरानका नगर प्रमुख हर्क साम्पाङले उद्घोष गरेर सहभागिहरुसमेत बोलाइसकेको उक्त र्याली स्थगित गरिएको हो ।
सामाजिक सद्भाव बिग्रने भन्दै सुरक्षा निकायका प्रमुखहरूले नगरप्रमुख साम्पाङलाई तत्काल कुनै पनि र्याली नगर्न भनेका हुन् । सुरक्षा निकायले र्याली ननिकाल्न आग्रह गरेपछि साम्पाङ पछि हटेका हुन् ।
मङ्गलवार धरानस्थित उनकै कार्यकक्षमा भेटघाट गर्दै सुरक्षा निकायका प्रमुखहरूले साम्पाङका गतिविधि तथा सामाजिक सञ्जालमा लेखेको विषयमा समेत गम्भीर असन्तुष्टि जनाएका छन् । सुरक्षा निकायले साम्पाङलाई सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनसमेत आग्रह गरेका छन् ।
हिन्दु धर्मगुरुहरुले गौहत्या विरुद्ध र्याली निकालेको भोलिपल्टै साम्पाङले धरानमा भ्रष्टाचारविरुद्धको र्याली निकाल्ने घोषणा गरेका थिए । यो र्यालीलाई हिन्दू धर्मावलम्बीहरुको र्यालीको काउन्टरका रुपमा हिन्दु धर्मका अगुवाहरुलेसमेत व्याख्या गरेका थिए ।
साम्पाङले क्रिश्चियन समुदाय र केही जनजाति समुहहरुलाई सो दिन सकेसम्म धेरै मानिस भेला पार्न सर्कुलर गरेको भन्ने सुचना हिन्दू धर्म अगुवाहरुले पाएका थिए । पछिल्लो समय आफ्ना अभिव्यक्ति तथा गतिविधिका कारण आलोचित बनेका र समर्थकहरु गुमाउँदै गएका साम्पाङले शक्ति प्रदर्शन गरी सहानुभुती बटुल्न खोजेको विश्लेषण गरिएको थियो ।
९ गते आफूले भनेजस्तो शक्ति प्रदर्शन गर्न नपाएका हिन्दु धर्म अगुवाहरुले आवश्यक परे १५ गते नै धरानमा शक्ति प्रदर्शन गर्नेसमेत तयारी गरेका थिए ।
त्यही सुचना पाएपछि सुरक्षा निकायका प्रमुखहरुले साम्पाङलाई तत्काल कुनै गतिविधि नगर्न अनुरोध गरेको हो ।