यो वर्ष टीकाको साइत ११ बजेर २ मिनेटमा

न्युजलय ३१ असोज २०८०, बुधबार ०१:०१ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णायक समितिले २०८० सालको विजया दशमीको टीका ग्रहणका लागि विभिन्न देश अनुसार शुभ साइतहरु सार्वजनिक गरेको छ । 


समितिले असोज २२ गते जारी गरे अनुसार नेपालमा यो वर्षको टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट रहेको छ । 


उक्त दिन टीकाको साईत अगावै देवी विसर्जन गरी शुभ साइतमा मान्यजनबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु उत्तम रहेको बताइएको छ । टीका ग्रहण गर्दा पूर्वी मोहोडा फर्किएर टीका लगाउने गरिन्छ । 

अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिए पछि यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११ः ३१ मिनेटमा, टेक्सासमा ११ः३ मिनेटमा, वासिङ्गटन डिसीमा १०ः५३ मिनेट र क्यालिफोर्नियामा १०ः३१ मा टीकाको शुभसाइत जुरेको छ । यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११ः३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ । यस्तै समितिले भारत, जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्‍ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०ः४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११ः१५मा, मेलबर्नमा ११ः३५ मिनेटमा, ब्रिसवेनमा १०ः२५ मिनेटमा र क्यानबेरामा ११ः२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।


यस्तै न्‍यूजिल्याण्डको वेलिङ्गटनमा ११ः२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ः२३ मिनेटमा, बेलायतको लण्डनमा ११ः३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११ः२५ मिनेटमा, नर्वेको ओस्लोमा ११ः३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ः१५ मिनेटमा, युएईको अबुधाबीमा ११ः०५ मिनेटमा, कतारको दोहामा ९ः५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०ः३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११ः३१ मिनेटमा, इजरायलको तेल अविवमा ९ः५ मिनेटमा, सिंगापुरमा ११ः५ मिनेटमा, साउदी अरेबियामा ९ः११ मिनेटमा, म्यानमारको याङ्गुनमा १०ः३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११ः५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।