इटहरी । स्वर्गीय धरणीधर दाहालको ९७ औं जन्म जयन्तीको अवसरमा इटहरीमा चुडामणी बन्धु र बुलु मुकारुङलाई सम्मान गरिएको छ ।
साहित्य, कला, संस्कृतिको विकासमा योगदान दिएको भन्दै उनीहरुलाई जनही ५०–५० हजार राशीको धरणीधर दाहाल स्मृति पुरस्कारबाट अभिनन्दन गरिएको हो ।
इटहरी साहित्यिक समुहको आयोजना तथा धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह आयोजनामा गरिएको कार्यक्रममा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलले अभिनन्दन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर पौडेलले साहित्यकारहरुले साहित्य सृजनामा राजनीतिलाई टाढा राख्नुपर्ने बताए । उनले यस क्षेत्रका विद्वत वर्गलाई उपमहानगरपालिकाले पुँजीको रुपमा ग्रहण गर्ने बताउँदै त्यसको लागि सहकार्य गर्न तयार रहेको बताए । उनले साहित्य, कला क्षेत्रमा सक्रिय व्यक्तिहरुको भेला फागुनभित्रै गराउने र एकेडेमी निर्माण गर्ने तयारी थाल्ने उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा डा. रामजी तिम्सिनाले स्वर्गीय धरणीधर दाहालका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीहरुले स्वर्गीय दाहालले लेखेका गीत तथा कविताहरु प्रस्तुत गरेका थिए । नेपाली भाषा ,साहित्य, कला, पत्रकारिता तथा समाजसेवामा महत्वपुर्ण योगदान पुर्याउने धरणीधर दाहालको जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले २०७१ सालदेखि पुरस्कार वितरण र सम्मान गर्दै आएको छ ।
दाहालले इटहरीको वस्ती विकासदेखि यहाँको शिक्षा, साहित्य, खोज अन्वेषणको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए । सिक्किममा समेत उनले राजनीतिक, साहित्यिक गतिविधि गरेका कारण उनी सिक्किमका साहियित्यक र राजनीतिक व्यक्तिहरुमाझ समेत चर्चित छन् ।
धरणीधर सांस्कृतिक केन्द्र म्याट्रिक्समा आयोजित कार्यक्रम इटहरी साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई, धरणीधर सांस्कृतिक केन्द्र म्याट्रिक्सका अध्यक्ष विक्रम श्रि, संगित साधना प्रतिष्ठानका अध्यक्ष राम खड्का, महासचिव राजु केसी, साहित्यकार प्रा.डा. बद्रिविशाल पोखरेल, कृष्ण अधिकारी, लेखनाथ घिमिरे लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।