रोनाल्डो आबद्ध अल नासर किङ्स कपको सेमिफाइनलमा

न्युजलय ३१ फाल्गुण २०७९, बुधबार ०१:३३ मा प्रकाशित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए ।

२१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो ।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए।

त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो ।