मेयरले भुक्तानी नदिएपछि ठेकेदारले गरे अरुणको फेरी अवरुद्ध

न्युजलय १४ बैशाख २०७९, बुधबार ०२:०९ मा प्रकाशित

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले भुक्तानी रोकिदिएको भन्दै निर्माण व्यवसायीहरुले अरुण नदीस्थित फेरी अवरुद्ध गरिदिएका छन्। 

 

वर्षौँदेखि बनाउन थालिएको पक्की पुल अलपत्र भएपछि अरुण नदीस्थित सतीघाटमा फेरी हालिएको थियो।


तर षडानन्द नगरपालिकाले काम लगाएर ठेकेदारले पाउनु पर्ने रकम भुक्तानी नदिएको भन्दै फेरीमा गाडी तेर्स्याएर अवरोध गरिदिएका हुन्। 


गत वर्ष अरुण नदीमा बाढी आएर फेरी चल्न अवरोध भएको ठाउँ सफा गर्न मैयुङ(पाण्डा निर्माण सेवालाई मेयर वीरबल राईले ठेक्का दिएका थिए। 


स्थानीयका अनुसार गत वर्ष नै ठेकेदारले काम सम्पन्न गरेका थिए। तर अहिलेसम्म नगरपालिकाले लगाएको कामको भुक्तानी नदिएको भन्दै ठेकेदारले मंगलबार ट्याक्टर तेर्स्याएर फेरी चल्न नदिएका हुन्।  


फेरी अवरुद्ध हुँदा सयौँ स्थानीयबासी र यात्रु मर्कामा परेका छन्। यसबारेमा मेयर राईसँग बुझ्न खोज्दा उनले फोन उठाएनन्।