काठमाडौं । माओवादीबाट मारिएका गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीले न्याय नपाएको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी गरिएको छ । एड्भोकेसी फोरमको पहलमा अनुसन्धान अपर्याप्त भएको भन्दै गत १४ सेप्टेम्बरमा उजुरी परेको हो ।
गोरखाबाट चितवन आएका फुजेल निर्दोष रहेको र उनलाई सुराकी गरेको आरोपमा माओवादीले नियन्त्रणमा लिइ अमानवीय रुपमा हत्या गरेको उजुरीमा उल्लेख छ । राज्य पक्षले अनुसन्धानको क्रममा केही व्यक्तिहरुलाई सीमित प्रश्न र एउटै उत्तर आउने गरि मात्र सोधपुछ गरेको उजुरीमा दाबी गरिएको छ।
अधिकारकर्मी मन्दिरा शर्माले उजुरीको विषयमा जानकारी दिँदै अनुसन्धानका क्रममा ३ जना मात्र अपहरणमा संलग्न रहेको भनेर उल्लेख गरिएको र त्यसमध्ये २ जना मरिसकेको तथा १ जना विदेशमा रहेको भनी यो प्रकरणलाई ढाकछोप गर्न खोजिएको बताइन् ।
किटानी जाहेरीमा समेत नाम उल्लेख भएका एक आरोपी रुद्र आचार्य आयरल्याण्डमा छन् । नेपालमा अधिकारीका आमा–बुवा नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी लामो समय न्यायका लागि अनसन समेत बसेको, बुवा नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भएको विषयलाई समेत उजुरीमा उल्लेख गरिएको छ।
गंगामायासँग सरकारले मानव अधिकार आयोगको उपस्थितिमा सहमति गरेको, तर उक्त सहमतिअनुसार रुद्र आचार्यलाई नेपाल ल्याउन सरकारका तर्फबाट ठोस पहल नभएको उजुरीमा उल्लेख छ। अनसनका क्रममा गंगामाया र नन्दप्रसादलाई मानसिक अस्पताल भर्ना गर्दै सरकारी अधिकारीहरुले हाइ डोजको औषधी सेवन गराउने, हात बाँध्ने र राज्यको निकायमा रहेकाहरुले नै पागल भनि मानसिक यातना समेत दिने कार्य गरेको उजुरीमा उल्लेख छ।
अधिकारी हत्या प्रकरणको सम्बन्धमा उजुरी आएपछि संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले त्यसलाई प्रष्ट पार्न उजुरीकर्तालाई केही प्रश्न सोधेको थियो।
उजुरीकर्ताको तर्फबाट जवाफ प्राप्त भएपछि समितिले अब नेपाल सरकारलाई प्रश्न सोध्ने तयारी गरेको छ। सरकारले जवाफ दिएपछि मानव अधिकार समितिले यसमा थप अनुसन्धान गर्ने कि नगर्ने निर्णय लिने छ।
२०६१ जेठ २४ मा चितवन, रत्ननगरमा रहेका हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो।