झापामा वृद्धा हत्याको आरोपमा एक युवक पक्राउ

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०८:५९ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका–५ मा एक वृद्धाको हत्या भएको छ । 

बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो । साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

कुँवरको हत्या आरोपमा मेचीनगर नगरपालिका–५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् । उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।