सोलुखुम्बु । लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा उडान प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित भएको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै हवाई उडानको संख्या बढिरहेका बेला आगलागीका कारण दिउँसो २ घण्टा विमानस्थल नै बन्द गर्नु परेको हो ।
आगलागीको बारेमा बिहान नेपाल प्रहरीलाई स्थानीयले जानकारी गराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जंगल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
मानवीय संसाधनले आगलागी नियन्त्रण हुन नसकेपछि हेलिकप्टर प्रयोग गरेर आगलागी नियन्त्रणको प्रयास गरिएको थियो । ‘
आगोले अहिलेसम्म कति हेक्टर वन क्षति भयो भन्ने यकिन जानकारी लिन नसकिए पनि १० हेक्टरभन्दा माथि जंगल क्षति भएको अनुमान गरिएको छ । अहिले पनि आगलागी भइरहेकाले विमानस्थलको हवाई उडानमा भने खतरा कायामै रहेको विमानस्थल कार्यालयले जनाएको छ ।