कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

न्युजलय ८ असोज २०८३, बिहिबार ०२:१२ मा प्रकाशित

इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत बिहीबार बिहान केसी सर्वसम्मत सभापति चयन भएका हुन् ।

सभापतिमा निर्वाचित भएपछि केसीले इटहरी कांग्रेसको आफ्नै पार्टी कार्यालय निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । 

केसी यसअघि दुईपटक नगर सभापतिमा हेमकर्ण पौडेलसँग पराजित भएका थिए । पराजित भएपनि उनले पार्टीप्रतिको सक्रियतालाई निरन्तरता दिएका थिए । १३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा पराजित विकास केसी तेस्रोपटक सभापति पदका उम्मेदवार बनेका हुन् ।

नेविसंघका पूर्व केन्द्रीय उपसभापतिसमेत रहेका केसी हाल जनता बहुमुखी क्याम्पसको अध्यक्षसमेत छन् ।

पदाधिकारी तथा सदस्यहरूको टुंगो भने लाग्न बाँकी रहेको छ ।