मोरङ । विराटनगरमा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरमा बिहानैबाट प्रहरीले मादकपदार्थ सेवन, सडकमा उच्छृंखल गतिविधि गर्ने, लापरबाही गरी सवारी चलाउनेमा विशेष निगरानी राखेको थियो। विशेषतः होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफिक कार्यालय मोरङ र जनपद प्रहरी विभिन्न चोकमा चेकिङ गरेका थिए।
त्यसैगरी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्र खड्काले बिहानबाट जिल्लाभर ट्राफिक नियम उल्लंघन भएका कुल ४ सय ३० वटा सवारीसाधन नियन्त्रणमा आएको बताए। जिल्लामा कागजपत्र विना मोटरसाईकल चलाएका १ सय ९५ वटा, मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएका ६७ वटा, विना हेल्मेटका ८९ र एउटै मोटरसाइकलमा ३ जना सवारी भएका ६४ जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए। यस क्रममा मापसे गरी चलाएको एउटा कार र अर्को एउटा कार तीव्र गतिमा चलाएको जनाउँदै ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक कार्यालय प्रमुख खड्काले विराटनगर महानगरपालिकाभित्र २ सय ३३ जना ट्राफिक नियम उल्लंघन गरेकालाई पक्राउ गरेको जानकारी दिए।
जसमा मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने ४० जना, कागजपत्र नबोकी मोटरसाइकल चलाउने १ सय १८, विना हेल्मेट ३६, मोटरसाइकलमा ३ जना चढेका ३७ जनालाई पक्राउ गरिएको उनले बताए। महानगरमा २ सय ३३ जना पक्राउ गरिएकामा दुई वटा कार र चालक पनि रहेको बताइएको छ।
उनीहरूलाई जरिवाना काटेर छाडिएको जिल्ला ट्राफिक प्रमुख खड्काले बताए। मापसे गरेका चालकलाई नछाडिएको बताएका उनले अन्य पक्राउ गरिएकालाई सम्बन्धितका आफन्तको रोहबरमा कागजपत्र ल्याएर सवारी फिर्ता गरिएको जानकारी दिए।