इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले आफ्नो सेवाशुल्क घटाएको छ । सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले पछिल्लो समय सेवाशुल्कमा परिमार्जन गरेको हो । योसँगै पछिल्लो महिना अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।
दिनमा पहिले फाट्टफुट्ट बिरामी आउने गरेकोमा अहिले डाक्टर र अन्य सेवा व्यवस्थित गरेपछि बिरामीहरु पनि बढ्न थालेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणको स्वास्थ्य उपचार सहज र पहुँचयोग्य बनाउने उद्देश्यले विशेषज्ञ चिकित्सकको ओपीडी सेवा २ सय, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क ४ सयमा उपलब्ध गराएको जानकारी दिएका छन् ।
अस्पतालमा दैनिक बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म फिजिसियन सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालमा प्रत्येक दिन सर्जरी, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग लगायत विभिन्न विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अस्पतालले माइनर तथा मेजर अप्रेसन स्वास्थ्य बीमा बोर्ड तथा नेपाल सरकारले तोकेको दर रेटमा गर्ने पनि जनाएको छ । भर्ना भएका बिरामीका लागि निःशुल्क अक्सिजन सेवा तथा सुत्केरी सेवामा समेत विशेष सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ । यस्तै सुगर प्रेसको सेवा निःशुल्क दिने जनाएको छ ।
अस्पतालका अनुसार थाइराइड परीक्षण ९ सय, भिटामिन ‘डी’ परीक्षण १ हजार ७ सय, भिटामिन ‘बी–१२’ परीक्षण १ हजार १ सय, भिडियो एक्सरे ८ सय तथा गर्भवतीका लागि एनओमली स्क्यान २ हजार पाँच सयमा उपलब्ध छ। अध्यक्ष घिमिरेले अस्पतालमा उपलब्ध सेवा र सुविधाका विषयमा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यकता अनुसार सेवा लिन आग्रह गरे ।
उनले आगामी दिनमा पनि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवामार्फत समुदायको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अस्पताललाई चाँडै बेडसंख्या बढाएर लाने तयारी भइरहेको उनले जानकारी दिए । सोही छेउमा ५०० बेडको अस्पताल शिलान्याससमेत भइसकेको छ । बिचमा विभिन्न कारणले बन्द भएपनि अब भने नियमित रुपमा सञ्चालनको प्रबन्ध मिलाइएको अस्पतालले जनाएकोछ ।