इटहरी । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने पक्का छ । निर्वाचनको मिति तोकिएसँगै निर्वाचन लक्षित कार्यक्रम र गतिविधि बाक्लिएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका प्रदेश १ का दुई उपमहानगरपालिका मध्ये एक हो । प्रदेशको अर्को उपमहानगरपालिका धरान उपमहानगरपालिका हो । इटहरीमा यो पटकको निर्वाचनलाई प्रतिष्ठानको लडाइँको रुपमा हेर्न थालिएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी र उप–मेयरमा पनि एमालेकै लक्ष्मी गौतम विजयी भएका थिए ।
कुल २० वटा वडा मध्ये १२ वटा वडामा वडाध्यक्षसहितका पदाधिकारीमा जित निकालेको नेपाली काँग्रेसले उपमहानगरको मेयर र उप–मेयरमा भने हार व्योहोर्यो । १२ वडामा जित दर्ता गर्दा पनि नेपाली काँग्रेसका उमेदवार रोहित प्रसाद प्रसाई २७ सय ४ मतले पराजित भए ।
अहिले पुनः निर्वाचनको सरगर्मी बढेको छ । वैशाख ३० को निर्वाचनबाट इटहरीको बागडोर कसले सम्हाल्ला भनेर अडकल बाजी सुरु भएको छ ।
चिया पसल, चौकमा मात्रै होइन प्रत्येक नागरीक अब इटहरीको मेयर÷उप–मेयर को होलन् भनेर भविष्यबाणी गरिरहेका छन् । अहिले इटहरीमा नेकपा एमाले र सत्ता गठबन्धनका दलविच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गठबन्धनले मेयर÷उपमेयरको भागवण्डा गरेको छ । गठबन्धनबाट इटहरीमा मेयरमा काँग्रेसका उमेदवार उठ्ने छन् भने उप–मेयर पद नेकपा एकीकृत समाजवादीले पाएको छ । तर, ठ्याक्कै मेयर वा उप–मेयरका आकांक्षी को को हुन् भनेर निक्र्योल गरिसकेको छैन । उता एमालेमा पनि कसले टिकट पाउला टुंगो छैन ।
अड्कलबाजी चलिरहँदा पार्टीहरु भने विभिन्न आधार देखाएर आफूले जित्ने दावी गरिरहेका छन् । अचम्मको कुरा त के भने योजना र भिजनले भन्दा पनि मतदाताको जोड–घटाउन नै उनिहरुको जित्ने आधार बनेका छन् ।
नेपाली काँग्रेस इटहरीका सचिव विक्रम घिमिरे यो पटकाको निर्वाचनमा एमालेलाई गठबन्धन हराएरै छाड्ने बताए । अघिल्लो निर्वाचनमा थोरै मतपरिणामले मात्रै पराजय भोग्नु परेको र अहिले गठबन्धनबाट निर्वाचनमा जाँदा मतपरिणाम बढ्ने उनको भनाइ छ । जसले गर्दा अबको इटहरीको मेयर उप–मेयरमा गठबन्धनले जित्ने उनको भनाइ छ ।
‘यसपालि इटहरीमा गठबन्धनले एमालेलाई हराउँछ’, सचिव घिमिरेले भने, ‘अघिल्लो निर्वाचनमा काँग्रेस थोरै मतले मात्रै हारेको थियो । अहिले गठबन्धन हुँदा काँग्रेससँगै माओबादी, एकीकृत समाजवादी पनि आउँदा गठबन्धन इटहरीमा एकदमै शक्तिशाली भएर गएको छ । इटहरीमा हामी शसक्त गठबन्धन गरेर अगाडी बढिरहेका छौँ र यस पटक एमालेलाई इटहरीमा हराउन गठबन्धन काफी छ ।’
गाउँ पञ्चायतदेखि इटहरी नगरपालिका र उपमहानगरपालिका हुँदा एमालेले इटहरीको प्रमुख पदमा विजयी हाँसिल गर्दै आएको छ । तर, अहिलेका निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन प्रणाली र एमालेको फुटको कारण यो पटक एमालेको लाल किल्ला तोडिने गठबन्धनका नेताहरु बताउँछन् ।
यसैगरि २०७४ सालपछि भएका व्यवसायीक संगठन तथा अन्य संस्थाका निर्वाचनमा काँग्रेस र गठबन्धन निकट उमेदवारहरु विजयी भएकाले पनि अब एमालेको जित्ने आधार कम हुँदै गएका नेताहरुको भनाइ छ । तर एमाले भने उनिहरुको यो तर्कसँग सहमत छैन । इटहरीमा गठबन्धन भएर एमालेलाई अप्ठ्यारो पर्यो भनेर बजारमा भएको जस्तो अवस्था नरहेको एमालेका इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाको भनाइ छ ।
अहिलेको गठबन्धनले एमालेलाई कुनै असर नपारेको र पार्न नसक्ने उनको दाबी छ । ‘गठबन्धन भएर आउँदा एमालेलाई केहि असर परेको छैन । एमाले अतालिएको पनि छैन र त्यस्तो केहि प्रभाव पनि परको छैन,’ अध्यक्ष सुब्बाले भने । इटहरीमा एमालेको जनसंगठन र लोकप्रीयता बलियो भएकाले गठबन्धनले केहि गर्न नसक्ने उनको भनाइ छ ।
यस्तै राष्ट्रियताको सवालमा एमालेले लिएको अडान र एमाले अध्यक्षको लोकप्रीयताले पनि स्थानीय निर्वाचनमा भूमिका खेल्ने उनको भनाइ छ । आफूहरुको लडाइँ गठबन्धनसँग नभएर नेपाली काँग्रेसँग भएको उनको भनाइ छ ।
विगतमा पनि काँग्रेस र एमाले नै इटहरीको मुख्य पार्टी भएकाले यो वर्ष पनि त्यहि हुने उनको भनाइ छ । जनमत नै न्यून भएका पार्टीहरु मिसिँदैमा एमालेलाई कसैले हराउन नसक्ने उनको दावी छ ।