विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा अपरिचित युवाहरुले ट्रक चालकको कान काटिदिएका छन् ।
पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको बुधबार राती देव्रे कान काटिदिएको मोरङ प्रहरीले जनाएको छ ।
मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।
विराट चोकमा पुगेपछि ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको होटलमा छिरेको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको बताइएको छ ।
काटिएको ठाउँमा गहिरो चोट लागेकाले अत्याधिक रक्तश्राव भएर अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।