लेटाङ घटनामा कर्तव्य ज्यान मुद्दाका १० आरोपी ५० हजार धरौटीमा छुटे

न्युजलय ७ बैशाख २०७९, बुधबार ०२:१२ मा प्रकाशित

मोरङ । एक महिनाअघि मोरङको लेटाङमा एक महिला प्रहरी जबानको ज्यान जानेगरी भएको घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई जिल्ला अदालत मोरङले जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।


मंगलबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले यस्तो आदेश दिएको हो।


मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा गएको चैत ६ गते स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जबान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। 


सोही विद्यालयमा कक्षा ६ मा पढ्ने १४ वर्षीया छात्रालाई बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई जोगाउन पुगेको प्रहरी टोलीमाथि नै स्थानीयले आक्रमण गर्दा घटना भएको थियो। 


सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६२ जनालाई पक्राउ गरेको थियो। जसमध्ये कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोश कुंवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगरलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। उनीहरु सबै मंगलबारै रिहा भइसकेका छन्। 


सो घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि अदालतले अविभावकको जिम्मा लगाउने आदेश दिएको छ।


घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक १४ वर्षीय किशोरसहित १६ जना विरुद्ध आजन्म कैदको माग गर्दै एक साताअघि जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। आरोपी ५ जना अझै पक्राउ परेका छैनन्।