झापामा ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु

न्युजलय २० चैत २०७८, आइतबार ०७:१८ मा प्रकाशित

झापा । झापाको गौरादहमा रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् ।

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोकिएको थियो ।

शनिबार (हिजो) बेलुकी भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।