तस्करी गरेर भारत लैजाँदै गरिएको कत्था विराटनगरबाट बरामद

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०५:०५ मा प्रकाशित

विराटनगर । तस्करी गरेर भारततिर लैजाँदै गरिएको कत्था सशस्त्र प्रहरीले विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । 

विराटनगर –१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ हजार ७१ किलोग्राम कत्था बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । 

प्रहरीका अनुसार बीओपी रानीको टोलीले भारत प्रवेश गर्न लागेको को १ त ६६२० नम्बरको ट्याक्टर र त्यसमा जडान गरिएको को १ त ५६११ नम्बरको ट्रलीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । 

त्यस क्रममा सानो र ठूलो काटुनमा प्याक गरेर बोराभित्र राखिएको अवस्थामा कत्था बरामद गरिएको हो ।

नेपालबाट भारततिर कत्था तस्करी हुँदै गरेको सूचना सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीलाई पुगेको थियो । त्यसलगत्तै नियन्त्रणमा लिन उनले विशेष टोली परिचालन गरेका थिए । 

सशस्त्रले बरामद गरेको कत्था ४ लाख ८४ हजार नौ सय ५० रूपैयाँ बराबरको छ । कत्थाको मूल्य नेपालमा प्रति किलोग्राम ४ सय ५० रूपैयाँभन्दा बढी पर्ने सशस्त्रले जनाएको छ ।