आफू एक्लै परेपछि मेयर साम्पाङले भने, ‘अब जोखना हेरेर बैठक बोलाउँछु’

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०५:०५ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाको बुधबार बोलाइएको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ एक्लै परेका छन् । 


कोही पनि कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि उपमहाानगरको बैठक बस्न नसकेको हो । 


कार्यपालिका बैठकमा उपस्थित नहुने नयाँ रोग नभएकाले आफूले वास्ता नगरेको मेयर साम्पाङले बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङले भने,  ‘वडा अध्यक्षहरूलाई बोकेर ल्याउन नमिल्ने अब चामल लडाउँछु जोखना हेर्छु अनि आफूलाई कहिले मन लाग्छ तहिले बैठक बोलाउँछु ।’


कार्यपालिका बैठकमा केही समय ढिला गरी पुगेका उपमेयर अइन्द्रबिक्रम बेघाले काम विशेषले धरान बाहिर गएकाले बैठकमा आउन ढिला भएको तर आइपुग्दा २९ जनै कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि बैठक बस्न नसकेको बताए । 


बैठकमा मेयर साम्पाङले बैठक बोलाउने आफ्नो एजेण्डा राख्ने र त्यसलाई थपडी बजाएर पास नगरे कुनै निर्णय बिना बैठक आफै स्थगित गर्ने गरेकाले त्यसको विरोधमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरू अनुपस्थित भएको नगरपालिकाका प्रवक्ता एवं वडा–१७ का अध्यक्ष मनोज भट्टराईले बताएका छन् ।


वडा १५ का अध्यक्ष नरेश ईवरामले भने कार्यपालिका बैठकमा राणा शासन लाद्दै निर्णय गर्न खोजेको र लोकतान्त्रिक पद्धति अनुसार कार्यपालिका सदस्यहरूलाई छलफल बहस गर्न नदिएकोले त्यसको विरोधमा अनुपस्थित भएको बताए ।