‘बस पल्टेर बजारियो, अनि भीरमा गुड्कियो’ : मादी घटनाका घाइते

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०९:१८ मा प्रकाशित

धरान । संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनाका पाँच जना घाइतेहरुलाई हेलिकप्टरबाट धरान ल्याइएको छ । सेनाको हेलिकोप्टरमार्फत् धरान ल्याइएका घाइतेहरुले तीव्र गतीका कारण बस दुर्घटना भएको बताएका छन् ।

घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको उपचारका लागि ल्याउँदै गर्दा हेलिकोप्टरमै मृत्यु भएको छ । उनीबाहेक अहिले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप पनि घाइतेसँगै धरान आइपुगेका छन् ।

घाइतेमध्ये मादी–५ का ३० वर्षीय सुवास गोले, मादी–६ का २२ वर्षीय तुलसा कट्वाल, अम्विका विक र ५० वर्षीय डम्बरबहादुर कार्कीको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको दुर्घटनाका घाइतेहरुले तीव्र गतीका कारण दुर्घटना भएको बताएका छन् ।

घाइतेमध्येका सुवास गोलेले चालकले तीव्र गतीका कारण अनियन्त्रित हुँदा बस भीरबाट तल खसेको थियो । चालकले स्टेरिङ घुमाउन नपाउँदै बस सिधै झरेको उनले बताए । घाइतेहरका अनुसार बस पल्टिएपछि भीरकै ढूँगामा बजारिएको थियो । त्यसपछि बस पल्टिएर भीरमुनि पुगेको थियो ।  

मृतकमा जिल्ला तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपीन निरौला (चालक तथा सवारी धनी), संखुवासभा मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन् ।

यस्तै, संखुवासभा मादी ६ बस्ने वर्ष ३२ की अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ । यस्तै, मादी–४ का वर्ष ६० को बलबहादुर कार्की, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, समीक्षाका छोरा वर्ष का सुदीप घिसिङको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान करिब ७ः३० तिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको ‘रेसम फिलिली’ नामको बस पुलुङ गाउँस्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको हो ।

संखुवासभा बस दुर्घटनाः मृतक १४ जनाकै पहिचान खुल्यो, घाइतेलाई धरान ल्याइयो