विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

न्युजलय ३० पुस २०८१, मङ्गलबार १२:३५ मा प्रकाशित

विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट सोमबार साँझ एक जना महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१४ स्थित हिमाल आँखा अस्पताल अगाडि साँझ दुर्घटना भएको हो। दुर्घटनामा परेर विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पैदलयात्री महिलालाई सडक पार गर्दै गर्दा प्रदेश १–०१–००१ ख् ४४८३ नम्बरको बसले ठक्कर दिएको थियो। रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।