माङ्पा, नछुङ, मुन्दुम ज्ञाताहरुको दोस्रो भेला सम्पन्न, उदिप राईको संयोजकत्वमा माङ्पा समिति गठन

अर्जुन राई अपहेलित ११ माघ २०७८, मङ्गलबार ०३:०१ मा प्रकाशित

इटहरी । किरात राईहरुको माङ्पा, नछुङ, मुन्दुम ज्ञाताहरुको दोस्रो भेला सम्पन्न भएको छ ।


किरात मुन्दुम अध्ययन केन्द्रद्वारा आयोजित उक्त भेला कार्यक्रम इटहरी स्थित किरात राई सुम्निमा संघको सभा हलमा सोमबार सम्पन्न गरिएको हो ।


उक्त भेलामा अगुवा मुन्दुमी नछुङ/माङ्पा/नागिरे/कुबी/दोवा/पासिङ/ज्वामचो/वाटाङ्पा, मुन्दुम ज्ञाता लगायत धामी बिजुवाहरुको उपस्थिति रहेको थियो । 


आइतबार र सोमबार गरि २ दिन सञ्चालन गरिएको सो भेलाले पछि थप गर्नेगरि ७ सदस्यीय नछुङ, माङ्पाहरुको केन्द्रिय तदर्थ समिति चयन गरेको छ ।


माङ्पा उदिप बहादुर राईको संयोजकत्वमा चयन भएको समितिको सह–संयोजक ढक बहादुर राई, सचीवमा मनि कुमार राई सह-सचिवमा कुमार राई चयन भएका हुन् ।


उद्घाटन कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले मुन्दुम अध्ययन केन्द्रको यो कमद स्वागतयोग्य भएको बताए । 


अध्यक्ष राईले सांस्कृतिक पुस्ता हस्तान्तरण हुन नसकेको कारण सांस्कृतिक पलायनले चरम रुप लिएको अवस्थामा नछुङ, माङ्पालाई संगठित गर्न आवश्यक रहेको उल्लेख गरेका थिए ।


कार्यक्रमको पहिलो दिन औपचारिक कार्यक्रमसँगै उपस्थित नछुङ, माङ्पाबाट रिसिया संकलन गरिएको थियो ।


किरात मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जितेन राईले मुन्दुम दर्शनमा रिसिया महत्वपुर्ण पक्ष भएकोले नछुङ, माङ्पाबाट संकलन गरिएको बताए । 


राईहरुमा पाछागत र भाषागत हिसाबमा केहि फरक पाइने भएकोले अहिले राई नछुङ, माङपाहरुबाट रिसिया संकलन गरिएको साथै अब अन्य किराती समुदायबाट पनि यस किसिमको अभियानमा सहकार्य गर्ने उनले बताए ।


किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी मोरङ तदर्थ समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा उपस्थित नछुङ माङ्पाहरूलाई सांस्कृतिक अभियन्ता मुलघरे कान्छा र मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जितेन राईले फेटा लगाइदिएर सम्मान गरिएको थियो । 


ऐतिहासिक नछुङ/माङ्पा भेला कार्यक्रममा किराया जिल्ला सुनसरी अध्यक्ष राजेन्द्र राई, किराया ईटहरी ५-७ प्राकास अध्यक्ष सागर राई, किराया मोरङ जिल्ला विराटनगर, किराया सुन्दर हरैचा मोरङ, किराया धरान नगर सुनसरी, किरात सांस्कृतिक कलाकार संघ सुनसरी, किरात सुम्निमा संघ सुन्दर हरैचा जिल्ला का स सुनसरी, किराया इटहरी ३ का.स, सुम्निमा संघ नगर समिती ईटहरी, दुमि किरात राई देलकिम तरहरा, दुमी किरात राई दुमकिम धरान, किराया प्राकस इटहरी ६ बान्तवा खिम सुनसरी, चाम्लिङ खाम्बातिम धरान,  किराया ईटहरी पकवी, ईटहरी हाँसपोसा, किरात वायुङ राई सुनसरी धरान लगायतको संस्थागत प्रतिनिधि, मुन्दुमी ज्ञाता, सांस्कृतिक अगुवा तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो ।