एक लाखको सुपारी दिएर छोराले गरे आमाको हत्या

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०७:३० मा प्रकाशित

 काठमाण्डौ । पोखरामा एक लाख रुपैयाँको सुपारी दिएर छोराले आमाको हत्या गराएका छन्। 

हत्या आरोपमा छोरासहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यही चैत ४ गते बिहान पोखरा महानगरपालिका–१२ शीतलादेवीस्थित सुकुम्बासी बस्तीमा ६७ वर्षीया नौमाया नेपाली मृत अवस्थामा भेटिएकी थिइन्।

आफ्नै घरको कोठाभित्र उनी मृत भेटिएको थिइन्। मृत रहेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनको मृत्यु शंकास्पद रहेको आशंका गरेको थियो । उनको घाँटी थिची हत्या गरेरजस्तो औलाको डाम थियो।

प्रहरीले नौमायाको हत्या छोराबाटै भएको पत्ता लगाएको छ। उनका जेठा छोरा ओमबहादुरले घरजग्गा बेच्न पटक–पटक प्रयास गरेका थिए। तर नौमायाले दिएकी थिइनन्। त्यसपछि छोरा ओमबहादुरले आमा नौमायालाई मार्ने योजना बनाए। त्यसका लागि आफ्ना साथी कुमार गुरुङको सहयोग उनले लिए । 

ओमबहादुरले १ लाख रुपैयाँको सुपारी दिएर कुमारलाई आफ्नो आमा मार्न पठाएको खुलेको छ। सोही योजना अनुसार उनीहरु दुई जना चैत ३ गते राति अबेरसम्म मदिरा पिएर बसेका थिए । त्यसपछि नौमाया निदाएको होला भनेर ओमबहादुर कुमारलाई आमा सुत्ने कोठामा पठाएर हत्या गर्न अह्राएका थिए।

राति ओच्छ्यानमा निद्रामा रहेकी नौमायालाई कुमारले घाँटी थिची हत्या गरेका थिए। हत्यापछि उनीहरु दुबै जना कुमारको घरमा गएर सुतेका थिए। भोलिपल्ट घर आएर ओमबहादुर आफैंले आफू नभएको बेला कोही कसैबाट आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।