काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूर्ण विद्यालयबाटै दिन लागेको हो ।
लक्षित समूहमा पर्ने बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले भने ।
कोभ्याक्स सुविधामार्फत बिहीबार मात्रै मोडर्नाको १४ लाख ४७ हजार ६ सय डोज खोप आएको छ । यसअघि एक लाख ८८ हजार डोज आएको थियो । आइतबार १९ लाख ६५ हजार ६ सय डोज आउने दाहालले बताए । यी सबै कोभ्याक्स सुविधाको निःशुल्क खोप हो । परिवार कल्याण महाशाखा प्रमुख डा। विवेक लालका अनुसार मोडर्नाकै थप ४० लाख डोज खरिद गरेर ल्याउन लागिएको छ ।