सोलुखुम्बुको सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा आयो

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०२:३२ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सामुदायिक वनमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर तीन दिनमा बिहीबार नियन्त्रणमा ल्याइएको छ ।

 

सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको मुसे सामुदायिक वनको नाकचुङ जंगलमा लागेको आगोले स्थानीय तीन वटा बस्तीमा आगो सल्कने खतरा भएपछि गाउँपालिकाले हेलिकोप्टर प्रयोग गरेको हो ।

 

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आङ फुर्वा शेर्पाका अनुसार आगो नाकचुङ, सुर्के र ताटे बस्ती नजिकै पुगेको थियो । उनले जंगलको ठूलो क्षेत्र जलेको र बन्यजन्तुको मरेको जानकारी दिए । उनका अनुसार हेलिकोप्टर भाडा झण्डै २० लाख खर्चेर पानी हालिएको हो ।


आगलागीबाट खस्रु र सल्ला प्रजातिको जंगल जलेर सखाप भएको छ । जिल्ला सगरमाथा पथमार्ग अन्तर्गतको लुक्लाबाट करिब ७ किमी पश्चिम दक्षिणमा रहेको उक्त जंगलको आगो निभाउन नेपाली सेना, प्रहरी र स्थानीयले संयुक्त प्रयास गरेका थिए ।


मान्छेले निभाउन नसक्ने परिस्थिति बनेपछि हेलिकोप्टर प्रयोग गरिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईले दिए ।