म्याद नाघेको जुस खाँदा २५ विद्यार्थी बिरामी

न्युजलय १७ चैत २०७८, बिहिबार ०१:५५ मा प्रकाशित

काठमाडौं । जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् । 


स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिए । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उनको भनाइ छ । 


विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि आज बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताए । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उनले जनाए । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उनको भनाइ छ ।