यही अनैतिक क्रियाकलापको भिडियो नष्ट गर्न गाउँपालिकामा भएको थियो आगलागी ?

न्युजलय २० भदौ २०८०, बुधबार ०३:०८ मा प्रकाशित

इलाम । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र महिला लेखा अधिकृतबिचको अनैतिक क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 


सिसिटिभीमा कैद भएको उक्त भिडियो लेखा अधिकृतको कोठाको हो । आफ्नो कुर्सीमा बसेर काम गरिरहेकी लेखा अधिकृतबिचको हर्कत सिसिक्यामेरामा रेकर्ड भएको पाइएको छ । प्रशासकीय अधिकृतले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेका छन् भने महिलाले पनि अधिकृतको गाला मुसार्ने, हात सुम्सुम्याउने गरेकी छिन् ।


काजीमानको सरुवा भइसकेपछि यो भिडियो बाहिर आएको हो । तर यो भिडियोलाई गाउँपालिकाको कार्यालय भवनमा गत साउन १८ गते भएको आगलागिसँग जोडेर सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । 


स्थानीय पत्रकार रोशन काफ्लेका अनुसार उक्त आगलागी भवितव्य नभइ सोही सिसिटिभी फुटेज नष्ट गर्न नियोजित रुपमा गराइएको भनेर स्थानीयले आशंका व्यक्त गर्दै आइरहेका छन् । भिडियो बाहिरिएपछि पुष्टि भएको उनले बताएका छन् । आगलागी पनि सर्भर भएको ठाउँबाट आगलागी सुरु भएको अनुमान गरिएको थियो । सिसि क्यामेरा, इन्भर्टर र ब्याट्री जल्दा साढे १३ लाख रुपैयाको क्षती भएको प्रारम्भिक विवरण तयार गरिएको थियो । 


आगलागीको बारेमा सत्यतथ्य छानविन गर्नको लागि स्थानीय राजनीतिक दलहरुले माग गर्दै आएपनि गाउँपालिकाले सधै टार्ने गरेकोसमेत स्थानीयको आरोप छ । 


यता गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफू बिरामी भएर बसेको र बुझ्न बाँकी रहेको बताएका छन् ।


काजीमान राईले चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा सरकारी कर्मचारीहरुलाई दिइने इन्टेग्रेटी अवार्ड पाएका थिए । एक निजी कम्पनिले सरकारी कर्मचारीहरुलाई प्रदान गर्ने उक्त अवार्डको लागि उनी देशभरका सरकारी कर्मचारीहरुबिच उत्कृष्ठ चुनिएका थिए ।