काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।
सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।
वार्तामा शिक्षा विधेयकलाई संशोधन गर्ने गरी आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको शिक्षा मन्त्री राईले बताएका छन् ।
संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै राहत शिक्षक र विद्यालय कर्मचारीहरु असोज ३ गतेदेखि आन्दोलित भएका थिए।
सरकारले आफूहरुका माग सम्बोधन गर्ने सहमति जनाएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए ।
शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी ५ बुँदामा सहमति गरिएको र सहमतिबाट सरकार पछि नहट्ने विश्वास रहेको उनको भनाइ छ ।
शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो । उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए ।