भदौ १६ देखि गौतमबुद्ध विमानस्थलमा जजिराले दैनिक उडान भर्ने

न्युजलय ८ भदौ २०७९, बुधबार ०२:०७ मा प्रकाशित

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

 

जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।


यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।


नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ ।