मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय २१ असार २०८३, आइतबार ०३:२० मा प्रकाशित

मोरङ । मोरङको लेटाङमा सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको सिटी सफारी लेटाङ–४ को फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइनकी करिब ६० वर्षीया सञ्चमाया लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । 

दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिटी सफारी चालक लेटाङ–४ का ३७ वर्षीय वीरबहादुर राई पनि सामान्य घाइते भएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ।

दुर्घटनामा परेको सिटी सफारी दर्ताविहीन रहेको प्रहरीले पुष्टि गरेको छ।