काठमाडौँ । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल सरकार र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई देशका अधिकारीहरूबीच भएको भर्चुअल वार्तामा रासायनिक मल खरिदका लागि सम्झौता भएको हो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको पनि उपस्थिति रहेको थियो । समझदारी पत्रमा सरकारका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भारत सरकारका तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार भारत सरकारले नेपाललाई आगामी पाँच बर्षसम्म युरिया र डिएपीमल उपलब्ध गराउने छ । जसमा भारतले यस बर्ष युरिया मल एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी गरी कुल एक लाख ५० हजार मेट्रिक टन मल पठाउनेछ ।
त्यस्तै, सम्झौताको दोस्रो बर्षमा एक लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार डिएपी गरी एक लाख ७० हजार मेट्रिक टन, तेस्रो बर्षमा एक लाख १५ हजार मेट्रिक टन युरिया र ८० हजार डिएपी गरी कुल एक लाख ९५ हजार मेट्रिक टन र चौथो बर्षमा एक लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डिएपी गरी २ लाख १० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ ।
त्यस्तै, सम्झौताको पाँचौ बर्षमा पनि भारतले चौथो बर्षमा पठाएकै मात्रामा रासायनिक मल उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
समझदारीमा उल्लेख भए बमोजिम दुवै देशको तर्फबाट जोइन्ट स्टेरिङ कमिटी गठन गरि छिट्टै प्रक्रिया शुरु गरिने दुबै पक्षले बताएका छन् ।