झापामा जङ्गली हात्तीको आक्रमणमा परी महिलाको मृत्यु

न्युजलय १८ पुस २०८१, बिहिबार ०५:३८ मा प्रकाशित

झापा । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकबल –७ की ३४ वर्षीया केलावती राजबंशी रहेकी छन् ।

स्थानीय दीपज्योति सामुदायिक वनमा दाउरा खोज्न गएकी राजबंशी बुधबार दिउँसो हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।

हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरेको थियो ।

मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।