एमाले प्रवेश गर्न लागेका रंगेलीका मेयर माओवादीबाट निष्कासित

न्युजलय २४ फाल्गुण २०७८, मङ्गलबार ११:२५ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिका प्रमुख दिलीप बगडियालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले प्रवेश गर्न लागेको भन्दै माओवादी केन्द्रले रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।  

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टीबाट निष्कासन गरेर आवश्यक कारबाहीका लागि निर्वाचन आयोगलाई सिफारिस गरेको जनाएका छन् । माओवादी पार्टीबाट टिकट पाएर रंगेली नगरपालिकाको मेयर पदमा निर्वाचित बगडियालाई १५ फागुनदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको माओवादी केन्द्र प्रदेश १ कमिटीले जनाएको छ। बगडिया माओवादी केन्द्र रंगेली नगरपालिकाको इन्चार्ज पनि थिए।

झन्डै आधा दर्जन इँटा र अन्य केही उद्योगका मालिका बगडिया पहिले नेपाली कांग्रेसमा थिए। कांग्रेसबाट सांसदको टिकट नपाएपछि रुष्ट भएका उनी पछि माओवादी पार्टीमा आबद्ध भएका थिए।