एमालेलाई कोशी प्रदेश सरकारबाट बाहिरिन इन्द्र आङ्बोको आग्रह

न्युजलय ३१ असोज २०८०, बुधबार ११:४९ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी प्रदेशमा गठबन्धन सरकारबाट बाहिरिन एमालेलाई आग्रह गरेका छन् ।


बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आङ्बोले एमालेले चाँडोभन्दा चाँडो गठबन्धनबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् । 


गठबन्धनको कमजोर र संविधानका केही प्रावधानका कारण जबर्जस्ती एमाले गठबन्धनभित्र घुसेर अनैतिक काम गरेको आङ्बोको भनाइ छ ।


आफूहरूले गठबन्धनको मर्मअनुसार मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको आङ्बोको भनाइ थियो । अहिलेका मुख्यमन्त्रीले नै आफूहरूलाई एमाले नेतृत्वको सरकारबाट बाहिरिन पटक–पटक आग्रह गरेको उनले स्मरण गरे ।